काठमाडौं, वैशाख २१ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गभर्नर दिन नसक्ने सरकारबाट सुशासनको अपेक्षा गर्न नसकिने बताएका छन् । नवलपरासीमा आयोजित एक कार्यक्रममा कोईरालाले सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न पूर्णतः असफल भएको बताएका हुन्।
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले गरिरहेको ढिलासुस्तीमाथि प्रश्न गर्दै उनले भने,- ‘अघिल्लो गभर्नरको एक महिना पदावधि छँदै नयाँ गभर्नर नियुक्ति सिफारिस गरिसक्नुपर्छ। अहिलेसम्म अघिल्लो गभर्नरको एक महिना पदावधि छँदै अर्को एउटा गभर्नर समयमा दिन नसक्ने सरकारले अरू के कुराको सुशासन दिन सक्छ भनेर अपेक्षा गर्ने ?’ ‘दुई ठुला दल कांग्रेस–एमालेको सरकार निर्माण हुँदा संविधान संशोधन, सुशासन, भ्रष्टाचारमुक्त लगायतका ७ बुँदे सहमति गरिएको थियो,’ नेपाल प्रेस युनियन नवलपुर शाखाले शनिवार कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शेखरले भने, ‘त्यसमा सरकार पूरै असफल भएको छ।’ कांग्रेसको समर्थन र सहभागितामा अहिलेको सरकार भए पनि यसको मुख्य जिम्मेवारी एमालेकै हुने उनको भनाइ छ। ‘एमाले अध्यक्ष(केपी शर्मा ओली) कै नेतृत्वमा सरकार भएकाले यसको मुख्य जिम्मेवारी पनि एमालेकै हुन्छ।’ कोइरालाले भने ।



