२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा


सञ्चार डबली
  • बिहीबार , असोज ३ २०८१
  • 5.9K
    SHARES

  • images
    संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा

    काठमाडौँ , असोज ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको बताएका छन् ।

    संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले कांग्रेसको नेतृत्वमा जननिर्वाचित प्रतिनिधिद्वारा विसं २०७२ असोज ३ गते संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान लामो र सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताए।

    “यो संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको छ। संविधान जारी भएको यो ऐतिहासिक दिनलाई हामी सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष संविधान दिवसका रूपमा मनाउँदै आएका छौँ,” सभापति देउवाले शुभकामना सन्देशमा भनेका छन् ।

    उनले संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

    पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात वीर सहिदको समर्पण र बलिदानको उच्च कदर गर्दै संविधान दिवसका अवसरमा उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरे ।  

    “विगतका हरेक राजनीतिक र सामाजिक आन्दोलनको अगुवाई गरेका अग्रज नेतागण, विभिन्न आन्दोलनका क्रममा ज्यानको आहुति दिने वीर सहिदहरू, लोकतन्त्र प्राप्तिको आन्दोलनमा त्याग, सङ्घर्ष र योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्व, हरेक आन्दोलनमा साथ सहयोग गर्ने नागरिकलगायत सबैप्रति उच्च सम्मान प्रकट गर्दै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दछु,” वक्तव्यमा भनिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend