२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा अनलाइन खाता खोल्न सकिने


सञ्चार डबली
  • शनिबार, साउन ९ २०८३
  • 1.9K
    SHARES

  • नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा अनलाइन खाता खोल्न सकिने

    काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँग सहकार्य गर्दै नागरिक एपमार्फत नै बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सुरु गरेको छ। यससँगै राष्ट्रिय परिचयपत्रका आधारमा नागरिक एपमा आबद्ध नेपाली नागरिकले अनलाइनबाटै ग्लोबल आइएमई बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्ने भएका छन्।

    बैंकका अनुसार नागरिक एप प्रयोगकर्ताले बैंकको वेबसाइटमा उपलब्ध क्यूआर कोड स्क्यान गरी खाता खोल्ने प्रक्रिया सुरु गर्न सक्नेछन्। यस सेवाअन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका, राष्ट्रिय परिचयपत्र बनाई नागरिक एपमा आबद्ध भएका नागरिकले बैंकमा अनलाइनमार्फत सहज रूपमा खाता खोल्न सक्नेछन्।

    खाता खोल्ने क्रममा बैंकले ग्राहकको पूर्वसहमतिमा नागरिक एपबाट आवश्यक व्यक्तिगत विवरण सुरक्षित रूपमा प्राप्त गर्नेछ। यसले व्यक्तिगत विवरण पुनः प्रविष्ट गर्नुपर्ने झन्झट हटाउनुका साथै ग्राहकको गोपनीयता र सूचनाको सुरक्षासमेत सुनिश्चित हुने बैंकको दाबी छ।

    यद्यपि, नागरिक एपमार्फत खोलिएको खाता पूर्ण रूपमा सञ्चालन गर्न भने ग्राहकले आफ्नो नजिकको शाखा कार्यालयमा गई वा भिडियो केवाईसी प्रक्रियामार्फत प्रमाणीकरण गर्नुपर्नेछ।

    बैंकले यो सेवा नेपालमै पहिलो पटक सुरु गरिएको दाबी गर्दै सरकारी डिजिटल पूर्वाधारको उपयोगमार्फत सुरक्षित, सरल र भरपर्दो डिजिटल बैंकिङ सेवा विस्तारमा थप उपलब्धि हासिल भएको जनाएको छ। नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई अझ सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।

    आधुनिक प्रविधि र ग्राहक सेवाका लागि परिचित ग्लोबल आइएमई बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरिसकेको छ। साथै युरोमनी अवार्ड फर एक्सलेन्स, बेस्ट बैंक ईएसजी नेपाल र बेस्ट इम्प्लोयरलगायतका प्रतिष्ठित अवार्डसमेत बैंकले हासिल गरेको छ।

    हाल ग्लोबल आइएमई बैंकले देशका ७७ वटै जिल्लामा ३४२ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ। साथै अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै आएको बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend